काठमाडौं। सीजी मोटर्सले नेपालमै एसेम्बल भएका मोटरसाइकल र स्कुटर नेपाली बजारका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । केही समय यता चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता बनेको छ ।
सीजी मोटर्सले अर्को साता नेपाली बजारका लागि हिरो स्प्लेन्डर, स्प्लेन्डर प्लस र एक्सपल्स २०० मोटरसाइकल लन्च गर्ने बताएको छ । त्यसैगरी नेपाली बजारका लागि नयाँ स्कुटरको रुपमा हिरो जुम पनि लन्च गरिने छ । यी चार मोडलका साथ नेपाली बजारमा पहिलो पटक प्रस्तुत हुने सीजी मोटर्सको तयारी छ । यी मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल हुने छन् ।
सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको औपचारिक जानकारी उनको छोरा निर्वाण चौधरीले सार्वजनिक गरेका थिए ।
नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण भएको छ। यहाँ वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने छ र १६५ जनाले रोजगारी पाउने छन् ।