काठमाडौं। चीनमा बीवाइडी डल्फिनको अनर एडिसन लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२ किलोवाट आवर ब्याट्री प्याकको सस्तो भेरिएन्ट थप गरेको छ । १३ हजार ८६५ डलर पर्ने उक्त भेरिएन्टले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने छ । इन्ट्रि लेभल भेरिएन्टको मूल्य पहिलेको तुलनामा ४.७ प्रतिशतले कम भएको छ ।
बाँकी तीन भेरिएन्टमा ४५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । तीनवटा भेरिएन्टमा ७० किलोवाट क्षमताको मोटर दिइएकोमा सबैभन्दा महंगो नाइट भेरिएन्टमा भने १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । बाँकी तीन भेरिएन्टको मूल्य क्रमशः १५ हजार ६७०, १६ हजार ६५० र १८ हजार ३० डलर निर्धारण गरिएको छ । यी भेरिएन्टले ४०१ देखी ४२० किलोमिटरसम्म रेन्ज दिने छ ।
कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ रोटेवल स्क्रिन, ५ इन्चको सानो एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, अगाडी भेन्टिलेटेड सिट, ५० वाटको वायरलेस चार्जिङ प्याडको साथै नयाँ टाइप सी चार्जिङ पोर्ट पाउन सकिन्छ । कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।
डल्फिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक ह्याचब्याक हो । पछिल्लो समय सर्बाधिक चर्चामा रहन सफल यो कारलाई बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ३९ लाख ८० हजारमा बिक्री गर्दै आएको छ । चीनमा लन्च भएको यसको नयाँ एडिसन अन्तराष्ट्रिय बजारमा निर्यात सुरु भएको छ।